रास्वपाले बोलायो संसदीय दलको बैठक

Posted on: 06 May, 2024

बैशाख २४,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए ।


२८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको झाले जानकारी दिए । ‘सदन र बजेट अधिवेशनको तयारीका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो,’ झाले अनलाइनखबरसँग भने ।

२ वैशाखमा सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको थियो । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने माग नेपाली कांग्रेसले उठाइरहेको छ । सत्ता पक्ष अघिल्लो संसद् बैठकमा संसदीय छानबिन समिति बनाउन तयार भएको थिएन ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिएका छन् । सहकारीमा देखिएको समग्र संकटमा छानबिन गर्ने गरी समिति बनाउने पक्षमा प्रधानमन्त्री छन् ।

व्यक्ति केन्द्रीत नभई समग्रतामा हुने छानबिनका लागि रास्वपा पनि संसदीय छानबिन समिति बनाउन तयार रहेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!