कटारी जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुग्यो

Posted on: 02 Mar, 2024

फागुन १९, कटारी | उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज ८३३३ नंको जिप दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।

वडाध्यक्ष नवीन तामाङका अनुसार कटारी–७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको पनि मृत्यु भएको छ । घटनामा गम्भीर घाइते लालकुमारीको कटारी अस्पतालमा उपचार सम्भव नभई थप उपचारका लागि विराटनगर पठाइएको थियो । लालकुमारीको विराटनगरस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास राईले बताए । जिप चालक कटारी–८ का ३३ वर्षीय थर्मसिंह तामाङ प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

राईका अनुसार शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको जिप कटारी–७ मर्जेतपुरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १३ जना घाइते भएका थिए । घाइतेमध्ये अहिले आठजनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य घाइते रहेको वडाध्यक्ष तामाङले जानकारी दिए । अनियन्त्रित भई जिप सडकभन्दा सय मिटर तल खसेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!