११ दिनदेखि बेपत्ता श्रीमती खोजीका लागि मलेसियाबाट गुहार माग्दै तिलबहादुर

Posted on: 10 Oct, 2023

असोज २३, उदयपुर | उदयपुरको कटारी नगरपालिका–२ खोक्सा घर भएकी ३९ वर्षीया धनकुमारी बुढाथोकी ११ दिनदेखि सम्पर्कविहीन छन्। घरबाट सिरहाको मिर्चैया जान भनेर हिँडेकी धनकुमारी अहिलेसम्म घर नफर्केको उनका आफन्तले बताएका छन्।

उनका जेठाजु (दाइ) कृष्ण बुढाथोकीका अनुसार धनकुमारी यही असोज १२ गते शुक्रबार बिहान पौने १० बजेतिर घरबाट मिर्चैया जान भनेर हिँडेकी थिइन्। 

धनकुमारीका श्रीमान् तिलबहादुर बुढाथोकी ६ महिनायता वैदेशिक रोजगारीका लागि मलेसियामा छन्। ड्युटीबाट फर्किएर खाना पकाउँदै गर्दा श्रीमतीलाई अन्तिमपटक फोन गरेको लिलबहादुरले जानकारी दिए। 


हराएकी धनकुमारीको माइती पक्ष, नातागोता, इष्टमित्र सबैतिर खोजी गरे पनि पत्ता नलागेको उनका श्रीमान्‌को भनाइ छ। 

‘आफू विदेशमा छु। ११ दिनदेखि श्रीमती बेपत्ता छिन्, कसलाई भन्नु? प्रहरी कार्यालयमा समेत दाजुले जाहेरी दिनुभएको छ। तरपनि अहिलेसम्म केही पत्तो लागेन,’ धनकुमारीका श्रीमान्‌ले टेलिफोनमा दुखेसो पोखे।

परिवारले जाहेरी दिएपछि बेपत्ता महिलाबारे खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी सुवास राईले जानकारी दिए।

दुई सन्तानकी आमा सम्पर्कविहीन भएपछि घरमा बालबच्चाको समेत बिचल्ली छ। रोजगारीका लागि मलेसिया पुगेको ६ महिनामै श्रीमती बेपत्ता हुँदा साना छोराछोरी मात्र रहेको घर लथालिंग बनेको भन्दै खिलबहादुरले धनकुमारीको खोजी गरिदिन सबैसँग आग्रह गरेका छन्। 

कहिँ कतै फेला परे नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८१८४८०३७७ र  ९८६४००२२४८ मा सम्पर्क गरिदिन श्रीमान्‌ तिलबहादुरले अनुरोध गरेका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!