श्रीमतीकै योजनामा श्रीमानको हत्या , सिन्धुपाल्चोकबाट सिक्लेस पुर्‍याएर हत्या !

Posted on: 22 Mar, 2024

चैत ९, काठमाडौँ | कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्न आएका रामलाल चैत ३ गते मृत भेटिए । जुगल गाउँपालिका–३ का वडाध्यक्ष लक्ष्मान दोङका अनुसार रामलालले डोजर, स्काभेटर चलाउँथे । उनी कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर सिक्लेस आएका थिए । 


 सिक्लेस गाउँबाट दक्षिण पाखोमा चैत ३ गते एक पुरुषको शव भेटिएको थियो । मादीमा निर्माणाधीन अपर जिरो मादी र मादमे खोला हाइड्रोपावर जाने बाटोभन्दा तल स्थानीयले शव देखेपछि वडाध्यक्ष देवीजंग गुरुङलाई खबर गरेका थिए ।

‘गोठालो गएका गाउँलेले रगत देखेपछि आफ्नै भैंसीको हुनसक्ने भन्दै खोज्दै जाँदा बाटोभन्दा करिब १५ मिटर तल शव देखेछन् । गाउँबाट थप मान्छे पठाएर लाश नै हो भनेपछि प्रहरीलाई खबर गरें’, गुरुङले भने ।

प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान थाल्यो । त्यसक्रममा हाइड्रोमा काम गर्न भनेर पोखराबाट गएका अर्का एक व्यक्तिले बसमा रामलालसँग चिनजान भएको र उनीहरुको समूहमा चार जना रहेको सूचना दिए । त्यही सूचनालाई पछ्याउँदा पक्राउ परेकाहरुसम्म पुग्न प्रहरी सफल भएको छ । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार रामलालको हत्याको योजना च्याङ्माले नै बनाएको प्रारम्भिक अनुसन्धानले देखिएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले च्याङ्मासँगै धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धनबहादुर, नवीन तामाङ र अजितले हाइड्रोमा काम गर्ने भनेर रामलाललाई सिक्लेस ल्याएका थिए । सिक्लेस गाउँभन्दा दक्षिण पाखोमा पुगेपछि उनीहरुले रामलालको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

काठमाडौं र भक्तपुरबाट पक्राउ परेका उनीहरुलाई पोखरा ल्याएको छ । प्रहरीका अनुसार पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको छ । रामलालको शव उनका बुबाले बुझेका छन् । उनको ज्याकेटको गोजीबाट स्काभेटरको चाबी भेटिएको छ । वडाध्यक्ष देवीजंग गुरुङको समन्वयमा उनको शवको पहिचान भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!