हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

Posted on: 04 Mar, 2024

फागुन २१, बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा जिल्लामा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई २१ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले गत फागुन १८ गते  भारतको बिहार राज्यको मोतिहारी घर भएका २९ वर्षीय रञ्जित सरार्फ र बारा महागढीमाई नगरपालिका-१ घर भई आसिफ मनि चेन्जर सञ्चालन गरी बस्ने ३९ वर्षीय मेराजुल हक अन्सारी तथा  ३१ वर्षीय कलामुदिन अन्सारीलाई पक्राउ गरेको हो । कलैया उप-महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट सर्राफलाई कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा लुकाई छिपाई ल्याएको विभिन्न दरको पाँच लाख रुपैयाँसहित पक्राउ गरिएको थियो । 


त्यसपछि उक्त हुण्डी कारोबारमा संलग्न रहेका आसिफ मनि चेन्जरका सञ्चालकहरूलाई पनि पक्राउ गरिएको थियो । उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धीको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छत्वाबाट खटिएको प्रहरी टोलीले फागुन २० गते कलयाणपुर सुलिगेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकलसहित भारतको बिहार घर भएका ४२ वर्षीय कृष्णलाल प्रसाद र ४० वर्षीय रवि शंकर सिंलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली सोह्र लाख नौ हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!