विश्वकपको वार्मअपमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने, टेस्ट राष्ट्रसँग खेल्न नपाउने

Posted on: 10 May, 2024

बैशाख २८, काठमाडौँ । नेपालले टी-२० विश्वकपको आधिकारिक प्रतियोगिता अगाडिको वार्मअप खेलमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने भएको छ।

 नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टीमले दुईवटा वार्मअप आयोजक अमेरिका र क्यानडासँग खेल्ने निधो भएको छ । दुवै वार्मअप म्याच अमेरिकामा २६ र २८ तारिखमा हुनेछन् ।

योसँगै नेपाली टिम विश्वकप अघि कम्तीमा एउटा टेस्ट राष्ट्रसँग वार्मअप खेल्न पाउने आशालाई आईसीसीले रोकीदिएको छ । यदि वार्मअप बलिया टीमसँग खेल्न पाएको भए विश्वकपका लागि नेपालको राम्रो तयारी हुन सक्थ्यो तर, त्यो अवसर गुमेको छ। यद्यपि, आइसीसीले आधिकारिक रूपमा सेड्यूल सार्वजनिक गरिसकेको छैन ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द पनि वार्म अपमा टेस्ट टिम नदिइएको प्रति खिन्न देखिन्छन् । आफूहरूले प्रयास गर्दा पनि सम्भव नभएको उनको भनाइ छ ।

‘दर्शकको चाहना र क्यानको पनि चाहना थियो कि कम्तीमा एउटा टेस्ट टिमसँग वार्म अप खेल्न पाइयोस् भन्ने । तर हामीले भनेर मात्र नहुँदो रहेछ । लबिङ गर्दागर्दै पनि भएन । टिमहरुको ट्राभलिङ र उपलब्धतालाई पनि हेरिएको होला । यूएसए र क्यानाडाका सबै खेल अमेरिकामा नै छन् । नेपालको पनि पहिलो दुईवटा म्याच अमेरिकामा छ । त्यसैले अमेरिका र क्यानडासँग नै हाम्रो दुईवटा म्याच राखिएको जानकारी आएको छ ’, उनले भने। 

नेपालले विश्वकपको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध जुन ४ तारिखमा अमेरिकाको डाल्लासमा खेल्नेछ । दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा ११ जुनमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । नेपालका बाँकी दुई खेल वेस्ट इन्डिजमा छन् । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा साउथ अफ्रिका विरुद्ध १४ तारिखमा म्याच छ भने समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशविरुद्ध १६ तारिखमा सोही मैदानमा खेल्ने तालिका रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!