चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द

Posted on: 13 Jan, 2024

पुस २८, सल्लेरी | सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाको २६७ सामुदायिक विद्यालयमध्ये १०१ एक विद्यालयको पठनपाठन बन्द भएको छ ।  

जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा दिने तयारी गरिरहेका छन् । 

सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१ विद्यालयमध्ये सात  विद्यालय बन्द भइसकेका छन् । 

महाकुलुङ गाउँपालिकामा १९ मध्ये आठ, लिखुपिके गाउँपालिकामा २२ विद्यालयमध्ये ६,  नेचासल्यान गाउँपालिकामा ३६ विद्यालयमध्ये चार तथा माप्यदूधकोसी गाउँपालिकामा ३९ विद्यालयमध्ये चार विद्यालय बन्द भएको कार्यालयले जनाएको छ । 

हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस÷माघमा जाडो बिदा दिने गरेका छन् । यहाँ चिसोका कारण शिक्षक बस्न नसक्ने तथा विद्यार्थीलाई समेत कठिन हुने भएकाले पुस दोस्रो साताबाटै विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्याक चेतबहादुर मगरले बताए ।  

उनले भने, “बालबालिका चिसोका कारण विद्यालयमा कम आउन थालेपछि बाध्य भएर जाडो बिदा दिनुपरेको हो ।” 

जिल्लाको माथिल्लो खुम्बु क्षेत्रको विद्यालय पुस लाग्दै बन्द गरिएका छन् । उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताए ।  

“यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीय समेत जाडो छल्न अन्यत्र जान थालेपछि हामीले  विद्यालयमा जाडो बिदा दिएका हौँ, यतिखेर बस्न सक्ने अवस्था नै छैन”, उनले भने ।  

सोताङ गाउँपालिका क्षेत्रका कुनै पनि विद्यालयले जाडो बिदा दिएका छैनन् । सोताङ न्यानो ठाउँ भएकाले त्यहाँको कुनै पनि विद्यालय बन्द नगरिएको गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!