अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा नेपालमा कार्यसमिति गठन, अध्यक्षमा एलबि कौशल

Posted on: 28 Apr, 2024

वैशाख १६, काठमाडौँ । नेपालमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ चयन भएको १९ सदस्यीय सोसाइटीको नेपालमा नेतृत्व एलबि कौशलले लिने भएका छन् । 


सनिबार ललितपुर स्थित रामेन हाउसमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको एक विशेष भेलाले नेपालको लागि पूर्ण कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा लाल बहादुर बिस्वकर्मा (एलबि कौशल), प्रथम उपाध्यक्ष बसन्त राइ, उपाध्यक्षहरुमा शिव हरि घिमिरे, चन्द्र बहादुर घले र प्रकाश कट्वाल चयन भएका हुन् । त्यस्तै कार्यसमितिको महासचिव पदमा गिरिराज भट्ट चयन भएका छन् भने सचिवको नेतृत्व पुस्कर पनेरुले लिने भएका छन् । त्यस्तै कोषाध्यक्षमा बिमल मगर चयन भएका छन् भने सह कोषाध्यक्षमा विष्णु खत्री चयन भएका छन् । 


त्यस्तै कार्यसमितिको सदस्यहरुमा क्रमश: गोबिन्द राइ, बासु सत्याल, श्रीकृष्ण केसी, किसोर रेग्मी, दुर्गा कुमार राइ, नबिन थापा, सन्तोष केसी, लक्ष्मण घिमिरे, ऋषिराम कौशल र रामकुमार खड्का चयन भएका छन् । 

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीको अध्यक्षता बसेको उक्त प्रथम औपचारिक भेलामा अध्यक्ष अधिकारीले अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी विश्वभर छरिएर रहेका नेपाली भान्छेहरुलाई एकिकृत गर्ने अभियानमा तल्लिन संस्था रहेको बताए । उनले भने 'यो सोसाइटिले विश्वभरी छरिएर रहेका नेपाली भान्छेहरुलाई एकिकृत गर्दै नेपाली खानाको प्रचार-प्रसार, खानाको स्तरोन्नतिको लागि जमर्को गर्नुको साथै नेपाली भान्छेहरुको व्यक्तित्व बिकासमा काम गर्छ ।'

अध्यक्ष अधिकारीले सोसाइटीको नेपालमा चयन भएको नयाँ कार्यसमितिलाई बधाई दिँदै आव्हान गरेका छन् - 'यदि तपाईं सेफ (भान्छे) हुनुहुन्छ, हाम्रो अभियानमा हातेमालो गर्न चाहनुहुन्छ भने आउनुस् हातमा हात, साथमा साथसंगै काधमा काध मिलाएर नेपाली भान्छेहरुको उदेश्य परिपूर्तिको लागि एकजुट होऔं ।' 


कार्यसमिति चयनको कार्यक्रममा उपस्थित भएका सेफहरुले अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीमा राजनीतिक स्वार्थ नछिराई विश्वमा नेपाली खानाको परिकारलाई पर्वर्दन गरि विश्वमा नेपाली खानाको छुट्टै पहिचान बनाउने उदेश्यमा लाग्नुपर्ने धारणा राखेका छन् । नेपालमा चयन भएका सबै कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले केन्द्रिय अध्यक्ष अधिकारीमार्फत औपचारिक सदस्यता प्रमाणपत्र ग्रहण गरेका छन् । 

नेपालमा नयाँ कार्यसमिति चयन भएसंगै अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको कार्यसमिति बिभिन्न २३ देशमा फैलिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!