मलंगवा घटना साम्य पार्न ६ बुँदे सर्वपक्षीय निर्णय

Posted on: 22 Sep, 2023

असोज ५, सर्लाही | सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदाबीचको तनाव साम्य पार्न सर्वदलीय समन्वय सहजीकरण बैठकले दोषी पत्ता लगाए कारबाही गर्नेसहितका ६ बुँदे निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति, सर्लाहीको अध्यक्ष एवंम् प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सृजित समस्या समाधान एवम् धार्मिक एवम् जातिय सद्भाव, कायम गर्न ६ बुँदे निर्णय गरेको हो ।

बैठकमा घटना सम्बन्धमा सूक्ष्म रुपमा गहन समीक्षा गरिएको छ । सबै मूर्तिहरु एकै ठाउँमा राखेर आज बेलुका ५ बजे देखि ७:०० बजे भित्र बिसर्जन गर्ने, सत्यतथ्य पत्ता लगाई घटनाका दोषीलाई पक्राउ गरी हदै सम्म कारवाही गर्ने निर्णय गरेको छ ।


यस्तै ब्रह्मपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्वहरुलाई पहिचान गरी घटनाका दोषीलाई पक्राउ गरी कार्यवाही गर्न, घटना घटाई मानवीय तथा भौतिक क्षति पुयाउने व्यक्ति पहिचान गरी क्षतिपूर्ति गराउने र आगामी दिनमा यस प्रकारका घटनाको पुनराबृती हुन नदिन सबै पक्षबाट गम्भीरता पूर्वक आ-आफ्नो दायित् निर्वाह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको छ । युवकको अवस्था गम्भीर छ ।

अप्रिय घटना निम्तिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीबार राति १० बजेदेखि अनिश्चित समयका लागि कर्फ्यू आदेश जारी गरेको छ । पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरिएको हो ।

यद्यपि, कर्फ्यू अवज्ञा गर्दै आज दिउँसो मलंगवामा प्रदर्शन भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमाथि ढुंगामुढा गर्न खोजेपछि प्रहरीले २१ सेल अश्रुग्यास प्रहार गरेको डिएसपी दिपेन्द्र पजियार थारुले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!