प्रचण्डलाई भेट्न बिहानै खुमलटार पुगे राजेश हमाल

Posted on: 01 Jul, 2022

असार १७, काठमाडौँ | नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको छ ।

आज बिहान साढे ८ बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल लाई भेट्न  नेपाली चलचित्र ‘महानायक’ राजेश हमाल प्रचण्ड निवास खुमलटारपुगेका थिए । राजनीति र चलचित्रका दुई हस्तीबीच करिब आधा घन्टा सौहार्द कुराकानी भएको छ । भेटघाटको समन्वय गरेका माओवादी निकट संगीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा-परिचर्चा भएको जानकारी दिए ।


भेटवार्ताका क्रममा नेपालको राजनीतिक विषयवस्तुबारे पनि कुराकानी भयो । हमालले एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राखेका थिए । प्रचण्डले उनको बुझाइमा आफ्नो समर्थन रहेको बताए । यस्तै श्रीलंकामा हाल उत्पन्न भएको संकटका विषयमा पनि कुराकानी भएको थियो । ‘राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिका विषयमा तपाईंको ज्ञान र बुझाइबाट म प्रभावित भएँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले बताए ।

हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो संकेत गरेका थिए । यदि परिस्थितिले मागेको खण्डमा आफू राजनीतिमा आउन नहुने कुनै कारण नरहेको उनको भनाइ थियो । प्रचण्डले राजेश हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको बताए । 

‘हामीले बाहिरबाट हेर्दा दुवैजनाबीच खुलस्त कुराकानी भएको थियो । दुवैले एक-अर्काप्रति समर्थन जनाउने हाउभाउ देखाइरहनुभएको थियो’, सापकोटाले भने । कुनै पनि फिल्मी कलाकारलाई एक्लै यति लामो समय प्रचण्डले भेटेको पहिलोपटक भएको सापकोटाको दावी छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधुप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । चलचित्र विकास बोर्डको अध्यक्षका लागि अरु कलाकार पनि दौडधुपमा छन् । अध्यक्षको आकाङ्क्षी कलाकारहरु नायक भुवन केसी, निर्देशक सम्झना उप्रेती, सुचित्रा श्रेष्ठ लगायतले राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!