पर्वत । पर्वत जिल्लाका सांसदहरुले सञ्चार क्षेत्रमा बिनीयोजन गरेको रकममा पनि चरम दुरुपयोग भएको पाइएको छ । तीन जना सांसदले सञ्चार क्षेत्रमा गरी कुल २८ लाख ५० हजार रुपैया बिनीयोजन गरेका थिए । सांसद अर्जुनप्रसाद जोशीले रु १० लाख, सांसद विकास लम्सालले रु १४ लाख ५० हजार र कल्पना चापागाईले रु ४ लाख रुपैया बिनीयोजन गरेका थिए ।
तरपनि कामै नगरीकन उक्त रकम भुक्तानी दिएको पाइएको छ । सांसद अर्जुनप्रसाद जोशीले पूर्वाधार विकास कार्यक्रममार्फत बिनीयोजन गरेको रकम कालीगण्डकी केवललाई रु ५ लाख रुपैया दिएका छन् तरपनि उक्त टेलिभिजनले कुनै सामान खरिद र भौतिक पूर्वाधार निर्माण समेत गरेको छैन । त्यस्तै थप पाँच लाख रुपैयाको पनि कुनै स्रोत नखुलाईकन खर्च गरिएको पाइएको छ ।
त्यसैगरी सांसद विकास लम्सालले सञ्चार क्षेत्रमा बिनीयोजित रकम निर्माणाधिन रेडियो सत्यवाणीलाई १ लाख ५० हजार रुपैया दिएका छन् । उक्त रकम भौतिक पूर्वाधार निर्माणमा खर्च भएको पाइएको छ । तर बाँकी १३ लाख ५० हजार रुपैया मध्ये रेडियो पर्वतको क्षमता अभिबृद्धिका लागि ११ लाख ५० हजार रकम भुक्तानी दिइएको भएपनि अझै उक्त रेडियोको क्षमता अभिबृद्धि र अन्य पुर्वाधारको काम भएको पाइएको छैन भने वाँकी डेढ लाख रुपैयाको पनि कुनै योजना खुलाईएको छैन ।
त्यसैगरी सञ्चार क्षेत्रमा सांसद कल्पना चापागाईले बिनीयोजन गरेको रु ४ लाख रुपैया पर्वतमा सञ्चालित विभिन्न संचार माद्यामलाई सामान खरिद गरेर उपलव्ध गराउने भनिएपनि अहिलेसम्म प्रकृयानै अघि नबढेको उहाँले बताउनुभयो । अब सामान खरिद गरेर वितरण गर्ने सांसद चापागाईले जानकारी दिनुभयो ।
पर्वत जिल्लाका दुईजना सांसद मार्फत भित्रिएको सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकममा चरम दुरुपयोग भएको पाइएको छ ।
असार मसान्तसम्म खर्च हुन नसकेको रकमलाई रकमान्तर गरी विना टेण्डर सामानहरु खरिद गरिएपनि दुरुपयोगको खुलासा भएको हो । सांसद विकास लम्सालमार्फत भित्रिएको रकममध्ये रु २० लाख, सांसद अर्जुनप्रसाद जोशीमार्फत भित्रिएको रु ३५ लाख रुपैयालाई रकमान्तर गरि पोल, जाली र पाईप खरिद गरिएको हो । जिल्ला समन्वय समिति पर्वतले पहिले आन्तरिक स्रोतबाट खरिद गरिसकेको सामानलाई रोकेर सांसदको रकमलाई रकमान्तर गरि सोहि टेण्डरमार्फत हुने गरी सामान खरिद गरिएको जिल्ला समन्वय समितिका एक अधिकृत बताए ।
सामानुपातीकका सांसद कल्पना चापागाई मार्फत भित्रिएको रु ५० लाख भने सवै खर्च भएको बताइएको छ । आफुमार्फत भित्रिएको सवै रकम खर्च भएको सांसद कल्पना चापागाईले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका अनुसार सांसदहरुकै सल्लाहामा रकमान्तर गरेर सामानहरु खरिद गरिएको हो । तर कति परिमाणमा सामानहरु खरिद गरिएको हो भन्नेबारे कर्मचारीहरुनै अनविज्ञ रहेका छन् । विना टेण्डर सामानहरु खरिद गर्न नपाईने आर्थिक प्रशासन नियमावलीमा उल्लेख भएपनि एउटा शिर्षकका लागि खोलीएको टेण्डरमा अर्को शिर्षकको रकमले खरिद गर्नु दुरुपयोग भएको कर्मचारीहरुलेनै स्वीकार गरेका छन् ।
जिल्ला समन्वय समितिका लेखापाल ध्रुव सुवेदीका अनुसार सांसदहरुलाई राज्यले यसरी रकम दिनुनै दुरुपयोग हुने बताउनुभयो । उहाँले राज्यले सांसदलाई दिनुभन्दा सोझै सरकारी निकायमार्फत खर्च गर्न दिनुपर्ने पनि बताउनुभयो । उक्त सामान सांसदहरुले आफ्नै तजबीजअनुसार वितरण गर्ने पनि उहाँले बताउनुभयो ।
गत साल पनि सांसदहरुको रकम फ्रिज भएको थियो । सांसदहरुले आफै फर्जि बिल बनाएर लाखौ रुपैया अनियमितता गरेका थिए ।
सांसदहरुले आँफूले विनियोजन गरेका क्षेत्रहरुमा रकम खर्च नगरि रकम नै फ्रिज नगएको देखाउनका लागि कर्मचारी र सांसदको मिलेमतोमा दवै पक्षले कमिसन लिनेगरी सामान खरिद गरिएपछि सर्वत्र आलोचना भएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!