६ महिनादेखि जोर्डनको जेलमा रहेका सुरज जेलमुक्त

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ | विगत ६ महिनादेखि जोर्डनको जेलमा परेका रुपन्देहीको सैनामैना नगरपालिका ६ का सुरज भण्डारी अन्ततः जेलमुक्त भएका छन् ।

सुरज युएईमा ट्रक चालकको रुपमा काम गर्दै आएकोमा सिरिया पुगेर फर्किनेक्रममा जोर्डनमा पक्राउ परेका थिए । सुरजकी श्रीमती सरस्वतीले युएईमा ट्रक चलाउने काम गर्दै आएका आफ्ना श्रीमान्लाई ट्रक मालिकले नै फसाएर ट्रकमा अवैध सामान राखिदिएको र जोर्डनको प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएर जेलमा राखेको बताउनुभयो । उनी निर्दोष रहेको भन्दै उनलाई छुटाउन नेपालमा आर्थिक सहयोग संकलन अभियानको पहल गरिएको थियो । 

सुरजलाई जेलबाट छुटाउन पहल गर्दै आउनुभएका समाजसेवी डोलराज भण्डारीले नेपाल सरकार परराष्ट्र मन्त्रालयको पहलमा सुरजलाई जेलमुक्त गराउन सफल भएको बताउनुभयो । उहाँले सुरजलाई छुटाउन प्रधानमन्त्रीको कार्यालयबाट परराष्ट्र मन्त्रालयलाई छिटो पहल गर्न निर्देशन दिनुका साथै नेपाली दुताबासबाट समेत दवाव दिएपछि सुरजलाई जेलमुक्त गराउन सफल भएको बताउनुभयो ।


सुरजलाई जेलमुक्त गराउन करिव ३५ लाख रुपियाँ खर्च हुने भनिएपनि परराष्ट्र मन्त्रालयले पहल गरेपछि उनको परिवारले १२ लाख नेपाली रुपियाँ बुझाएको उनकी श्रीमती सरस्वतीले बताउनुभयो । सुरजको सम्पत्तिको नाममा एउटा घरमात्र रहेकोले उनको रिहाईका लागि सहयोग अभियान चलाइएको थियो । 

अभियान अन्तर्गत सङ्कलित रकमले नै सुरज अन्ततः जेलमुक्त भएका छन् । सुरज जेलमुक्त भएपछि अहिले जोर्डनमै रहेको र केही दिनभित्रै नेपाल आउने तयारीमा रहेको समाजसेवी भण्डारीले जानकारी दिनुभयो । 

त्यसअघि सुरजलाई जेल मुक्त गराउन रुपन्देहीको सैनामैनाबाट सुरज छुटाउ अभियान थालिएको थियो । सुरजको गृह नगर सैनामैनाका युवाहरुको संस्था कलौनी ब्रदर्श फर सोसाईटीले सुरज बचाउ अभियान सुरु गरेको थियो । 

सैनामैना वडा नं. ६ का समाजसेवी युवा प्रेम थापाले सुरज बचाउ अभियानमा सबैले आर्थिक रुपमा सहयोग गरेको कारण उनलाई जेलमुक्त गराउन सफल भएको बताउनुभयो। उहाँले सुरजको परिवारसँग पैसा नभएकै कारण आफूहरुले सहयोग अभियान सुरु गरेर पैसा पठाउन सफल भएको बताउनुभयो । 

कलौनी ब्रदर्शका सदस्य प्रसन्न पन्तले सुरजलाई जस्तो समस्या भोलीको दिनमा जसलाई पनि पर्न सक्ने भएकोले सुरजलाई जेलबाट छुटाएर नेपाल ल्याउन आफूहरुले सहयोग संकलन अभियान चलाएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!