-राजु विक
संसारमा जडधारी र जीवधारी गरेर दुई विशेषताको अस्तित्व छ । जडधारीले आफ्नो धर्मलाई कहिल्यै छाड्दैनन् । जीवधारीमा पनि मानिस बाहेक अन्य प्राणीहरुले पनि आफ्नो धर्मलाई कहिल्यै छाड्दैनन् । जस्तो मृग जाति घास खान छाड्दैनन् । बाघ जाति मासु खान छाड्दैनन् ।
संसारका प्राणी जातिमा मानिस यस्तो प्राणी हो जसले कुनै पनि समय आफ्नो धर्मलाई छाड्न सक्छ । आफ्नो स्वार्थ र नियत अनुसार ऊ क्षणभङ्गुरमै बदलिन बेर लाग्दैन । ऊ देवबाट दानव र दानवबाट देव हुन बेर लाग्दैन ।
संसारका प्राणी जातिमा मानिस सबैभन्दा शक्तिशाली, बुद्धिजीवी र सक्षम प्राणी अवश्य हो । संसारका जड र सजीव वस्तुहरुमा उसले नियन्त्रण कायम गर्न सक्षम भएको छ तर उसले आफ्नो मनोगति र नियतिमाथि कहिल्यै पनि विजय हाँसिल गर्न सकेको छैन । यो नै मानव जातिका लागि सर्वमान्य दुःखको कारण बनिरहेछ ।
मानव जाति बिचको दरार किन बढिरहेछ ? किन यति सुन्दर मानव जीवन कुरुप बनिरहेछ ? मानव दुनियामा किन यतिको कुरुरता बढिरहेछ ?
यसको प्रमुख कारण मानवको व्यक्तिगत स्वार्थ र उपभोगवादी नियत हो । संसारका सबै प्राणीहरु सुखपूर्ण जीवन जिउन चाहन्छन् । तर संसारका मानव जातिको सुख र दुःखको कारण र कारक एउटै छैन । एउटै कारण कसैका लागि सुख र कसैका लागि दुःख हुन सक्छ ।
संसारमा भौतिकवादको विकास चरमोत्कर्षमा पुगेको छ । भौतिक विकासलाई नै सभ्यताको नमुनाको रुपमा लिन थालिएको छ । यसैका आधारमा विकसित र अविकसित देश भनी छुट्याउन थालिएको छ । मानवीय सभ्यता, संस्कार, दया, विवेक र अस्तित्वलाई पनि भौतिक वस्तुसँग जोडेर मूल्य निर्धारण गर्न थालिएको छ । यसैको कारण विकसित र अविकसित देश, धनी र गरिब मुलुक र मानिसको वर्गीकरण बनिरहेको छ । भौतिक वस्तुको संकलन र उपभोगका लागि आध्यात्मिक शक्तिको दुरुपयोग गरिरहेको समेत पाइन्छ ।
हामीले देखिरहेका छौँ कि ठुला ठुला धार्मिक महोत्सव चलिरहेका हुन्छन् तर तिनीहरुको मूल उद्देश्य आर्थिक संकलन गर्ने रहेको हुन्छ । धन एवम् आर्थिक सहयोग गर्न सक्ने मानिस महाको धर्मात्मी बनिरहेको र सम्मान पाइरहेको पनि देखिरहेका हुन्छौँ । यसको अर्थ निर्धन मानिस अधर्मी, पापी र निकृष्ट ठहर्ने भो । होइन र ?
संसारमा धन चाहिने प्राणी मानव जाति मात्र हो । धन जोड्नका लागि अहोरात्र खट्ने प्राणी पनि मानव जाति नै हो । चेतनाको विकाससँगै धनका लागि मरिहत्ते गर्ने प्राणी पनि मानव जाति नै हो । तर प्राणी जातिमा सबैभन्दा गरिब र निर्धन प्राणी पनि मानव जाति नै हो ।
संसारका अन्य प्राणीले धनको बारेमा कहिल्यै सोच्दैनन् । धन जोड्न पनि कहिल्यै खोज्दैनन् । तर भोक, रोग र शोकले अति निमुखो पनि कहिल्यै बन्दैनन् । उनीहरुले जति जीवन बाँच्छन् त्यति सन्तोष र सुखपूर्ण जीवन बाँच्छन् । यदि उनीहरु पनि दुःखी बन्छन् भने त्यो मानव जातिकै कारण बन्छन् ।
हामीले जोकोही मानव जातिलाई देखिरहेका छौँ । सबै पढ्न चाहन्छन् । अगाडि बढ्न चाहन्छन् । प्रगति गर्न चाहन्छन् । ठुलो पद र जिम्मेदारीमा पुग्न पनि चाहन्छन् । नाम र प्रतिष्ठा पनि कमाउन चाहन्छन् । तर तिनीहरुको आन्तरिक उद्देश्य प्रशस्त अर्थार्जन नै रहेको हुन्छ । यसैका लागि उनीहरुले आफुलाई गुमाइरहेका हुन्छन् । यसैका लागि उनीहरुले अरुलाई पनि गुमाइरहेका हुन्छन् । फलतः जन्मजात रुपमा लिएर आएको सुख भोक, तिर्खा, निद्रासमेत गुमाइरहेका हुन्छन् । नानाभातीका रोगव्याधीको सिकार पनि बनिरहेका हुन्छन् । सबैभन्दा कडा त चिन्ता रोगी समेत बनिरहेका हुन्छन् । यसै कारण शीघ्रातिशीघ्र चिताको मुखसम्म पुग्न बाध्य हुन्छन् ।
संसारका जति पनि सजीव र निर्जीव वस्तुहरु छन् ती सबै एकअर्काका सहायक नै छन् । तिनको सदुपयोग गरेर बाँच्न पाउने अधिकार हरेक प्राणी जातिमा छ । तर मानवजाति यस्तो प्राणी हो जसले उपयोग मात्र होइन तिनीमाथि पूर्णतः वर्चश्व जमाउन चाहन्छ । यसैकारण हरेक मानिस द्वन्द्वमा फस्छ । यसको रुप बढ्दै जाँदा विश्वयुद्धसम्मका घटनाहरु हाम्रो सामु अहिलेसम्म पनि दुखिरहेका छन् ।
धनका लागि अहिलेको मानिसले जे गर्न पनि पछि परेको छैन । तर त्यसकै दास बनिरहेछ । धन प्राप्त गर्नका लागि उसले आफ्नो सर्वश्व गुमाइरहेको छ ।
तर धनको मुख कालो हुन्छ । यसले राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो बनाउन पनि बेर लाग्दैन । आफ्नोलाई अर्को र अर्कोलाई आफ्नो बनाउन पनि बेर लाग्दैन । यो सक्रियबाट निस्क्रिय र निस्क्रियबाट सक्रिय हुन पनि बेर लाग्दैन । यसले मरेकालाई बँचाउन र बाँचेकालाई मार्न पनि बेर लाग्दैन । यसलाई हामी सबैले आत्मसात गर्नै पर्छ ।
धन गति हो । मन पनि गति हो । तर बुद्धि, विवेक, दया, माया, ममता यसका सारथी हुन् । सार्थक र सुखी जीवन जिउनका लागि यिनै सारथीले धनको उचित परिचालन गर्नै पर्छ ।
हामीसँग प्रेतात्म र देवात्मा गरी दुई आत्मा छन् । जब प्रेतात्मको नियन्त्रणमा धन पुग्छ तब विनाश जन्मिन्छ । संसारमा हिंसाको कालो बादल मडारिन थाल्छ । जब देवात्माको नियन्त्रणमा धन पुग्छ तब परोपकार र सिर्जनाका नमुनाहरु झल्किन थाल्छन् ।
धनले धर्मको अग्नि परीक्ष लिइरहेको हुन्छ । जब धनको कालो बादलले मानिस अन्धो बन्छ तब उसको पतन पनि शुरु हुन्छ । जस्तो कि धन र विलाशितामा अन्धो बनेको कारण पटक पटक स्वर्गका राजा ईन्द्रको समेत पतन भएको थियो ।
चमच्चाको तौलोमा जीवनचक्र घुमिरहेको हुन्छ । कहिले तल कहिले माथि । कहिले जित कहिले हार । कहिले अमिर कहिले गरिब । घिउ खानेका छोराछोरी पिडालु खाने भए र पिडालु खानेका छोराछोरी घिउ खाने भए भन्ने उखान त्यसै बनेन होला ? कस्ता कस्ता कहाँ गए मुसाका छोराछोरी दरबारमा आए भन्ने उखान पनि त्यसै बनेन होला ?
विश्व विजेता अलेक्जेण्डरले समेत अन्त्यमा यसो भन्न बाध्य भएका थिए ः “म मरेपछि मेरा दुबै हात बाहिर निकालेर लैजानु । दुनियाले यो बुझोस् कि आज विश्वविजेता अलेक्जेण्डर पनि रित्तो हात जाँदै छ ।”
एक दिन मर्नु नै छ । नाङ्गै आउने र नाङ्गै जाने एकबारको जुनीलाई धनको दास बनाएर दुःखी नपारौँ । धनको दास हुने जीवन कदापि उन्मुक्त हुन सक्दैन ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!